२९ कात्तिक,काठमाडौं । भारतको जम्मू–कश्मीरको श्रीनगरमा रहेको नौगाम क्षेत्रमा गएराति एक प्रहरी चौकीभित्र ठूलो विस्फोट भएको छ। विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको र २७ जना घाइते भएको भारतीय समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।
मृतक र घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार यो घटना आतङ्कवादी आक्रमण नभई प्रहरी चौकीमा भण्डारण गरिएको अमोनियम नाइट्रेट विस्फोटक पदार्थ आकस्मिक रुपमा विस्फोट हुँदा भएको बताइएको छ।
विस्फोटको आवाज धेरै परसम्म सुनिएको र चौकीभित्र रहेका केही गाडीमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा थप जाँच–पड़ताल भइरहेको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

















