Logo

फाईल फोटो

२ मंसिर, काठमाडौँ । राजावादी अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईं सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले पुष्टि गरेको छ।

प्रसाईंले अराजकता फैलिने गरी अभिव्यक्ति दिएको, हिंसा भड्काउने संकेत देखिएको तथा आन्दोलनका नाममा अस्थिरताको वातावरण सिर्जना हुनसक्ने भन्दै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

यसअघि चैत १५ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । हाल राजावादी राजनीतिक गतिविधि चर्काइरहेका प्रसाईं बैंकका ऋण मिनाहा गर्नदेखि विभिन्न राजनीतिक मागसहित देशव्यापी आन्दोलनको तयारीमा थिए । उनले मंसिर ७ गतेदेखि व्यापक आन्दोलन सञ्चालन गर्ने घोषणा गरेका थिए ।

उनको पक्राउपछि काठमाडौँ उपत्यकामा सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले रातमै सर्कुलर जारी गरेको एक उच्च अधिकारीले जानकारी दिए ।

प्रसाईंका समर्थकहरूले मंगलबार बिहानदेखि विरोध प्रदर्शन गर्ने आशंका रहेकाले उपत्यकाका सबै युनिटलाई सुरक्षात्मक तयारी सुदृढ गर्न निर्देशन दिएको बताइएको छ।

प्रसाईंविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार