Logo

५ मंसिर,वीरगञ्ज । बारा प्रशासन र जेनजी (जनता जनताको शक्ति) प्रदर्शनकारीबीच वार्ता सुरु भएको छ।

वार्ता पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा भएको हो। वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनाका जिल्ला प्रमुखहरू उपस्थित छन्।

प्रदर्शनकारीको तर्फबाट सम्राट उपाध्याय, कपील खरेल लगायत सहभागी भएका छन्। प्रशासनले कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको भए पनि प्रदर्शनकारी त्यहाँ उपस्थित भएनन्। पछि जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू पथलैयामा आएका थिए।

वार्तामा जेनजीका अगुवा सम्राट उपाध्यायले ६ बुँदे माग प्रस्तुत गरेका छन्। उनले बुधबार र बिहीबारको घटनामा सुरक्षा कमजोर भएको भन्दै बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङ तथा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीको कारबाही माग गरेका छन्। साथै घाइतेको नि:शुल्क उपचार र क्षतिपूर्तिको व्यवस्थापन पनि आवश्यक रहेको जेनजीले उल्लेख गरेका छन्।

जेनजीका माग यस प्रकार छन्:
१. सुरक्षा प्रणालीमा कमजोरी देखाएका बाराका एसपी सन्तोष तामाङ, जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई कारबाही गर्नुपर्ने।
२. जेनजी प्रदर्शनकारी र प्रदर्शनमा सहयोग गर्ने सबैको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने।
३. जेनजीमाथि हातपात गर्ने सबैलाई कडा कारबाही गर्नुपर्ने।
४. जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता अरविन्द साहको टेलिफोन रेकर्ड छानबिन गर्नुपर्ने।
५. राज्यको तर्फबाट घाइतेको नि:शुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने।
६. सुरुको जाहेरीमा नाम उल्लेख नभएका एमालेका स्थानीय कार्यकर्ता नवराज बस्नेत र विशाल लामालाई पुरक जाहेरी लिएर नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने।


सम्बन्धित समाचार