Logo

५ मंसिर,काठमाडौं । नेकपा एमालेले शुक्रबार घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डर सिन्धुलीका पुष्पराज श्रेष्ठमाथि सातवटा फौजदारी मुद्दा लागेका खुलेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेता भानुभक्त ढकालले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नेसनल भोलेन्टियर्स फोर्स घोषणा गरेका थिए। यसअघि श्रेष्ठ नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए र भोलेन्टियर्स फोर्सको जिम्मेवारी पनि उनी नै पाएका हुन्।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार, श्रेष्ठमाथि ४ वटा ज्यान मार्ने उद्योग, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता भएको छ। प्रहरीले जनाएको अनुसार श्रेष्ठ २०६३ देखि अपराधमा संलग्न रहेका छन्।

२०७५ मा सार्वजनिक अपराध, २०७३ मा ज्यानमार्ने उद्योग,२०६३ मा ज्यान मार्ने उद्योग, २०६४ मा पनि ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध र २०७० मा अपराध तथा शरीर बन्धक मुद्दा लागेको थियो । त्यसबाहेक २०६५ मा श्रेष्ठमाथि ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीले मुद्दा चलाएको थियो ।


सम्बन्धित समाचार