५ मंसिर,वीरगञ्ज । बाराको सिमरा घटना समाधानका लागि गरिएको वार्ता भर्खरै सम्पन्न भएको छ। बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रबार प्रशासन र जेनजीबीच वार्ता सञ्चालन गरिएको थियो।
वार्तापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीहरूको सुरक्षाको व्यवस्था, घाइतेहरूको उपचारमा समन्वय, तथा घटनाको निष्पक्ष छानबिन र आवश्यक कारबाही सम्बन्धी तीन बुँदे विज्ञप्ति जारी गर्ने सहमति बनेको जानकारी दिए।
वार्तामा सहभागी जेनजी समूहका अगुवाहरूले आफूहरूलाई निरन्तर धम्की आइरहेको उल्लेख गर्दै सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका थिए। साथै, घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखिएको थियो।
जेनजी समूहले अहिलेसम्म पक्राउ नपरेका आरोपितहरूलाई कुन दिनसम्म पक्राउ गर्ने हो, म्याद तोक्नुपर्ने पनि जोड दिएको थियो। तर प्रजिअ मिश्रले सार्वजनिक रूपमा देखिँदै हिँडिरहेका आरोपितहरूलाई पक्राउ गर्न निर्देशन भइसकेको बताउँदै,
लुकेर बसेका व्यक्तिहरूका लागि पक्राउ गर्ने निश्चित दिन तोक्नु उपयुक्त नहुने स्पष्ट पारे।















