६ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकको तयारीबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई सहभागी हुन बोलाइएको बताए।
मंसिर ४ गतेका लागि निर्धारण गरिएको बैठक स्थगित भई आजका लागि सारिएको हो। गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मिति निर्धारणका विषयमा देखिएको मतभिन्नताका कारण पटक–पटक स्थगित हुँदै आएको छ।
केन्द्रीय सदस्यहरूले औपचारिक रुपमा आफ्नो धारणा राखिसकेको भए पनि सहमतिको खोजीका लागि अनौपचारिक छलफल आवश्यक ठहर भएपछि पुनः बैठक बोलाइएको हो।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअघि—पुसभित्रै—महाधिवेशन सक्नुपर्ने आवश्यकता औंल्याइरहेका छन्। तर सभापति शेरबहादुर देउवा पक्ष भने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्छ भन्ने अडानमा अडिग छ।















