६ मंसिर,काठमाडौं । नेकपा एमालेले आज राजधानी काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु गरेको छ। ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अघि सार्दै बागमती प्रदेश कमिटीले आयोजना गरेको यो प्रदर्शनमा पार्टीका नेता–कार्यकर्ता सक्रिय सहभागितासहित सडकमा उत्रिएका छन्।
एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई आजको जनसभाको मुख्य मागका रूपमा अघि ल्याएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २३ र २४ गतेको ‘विध्वंस’पछि असंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन भएको विरोधमा एमालेले वडा, पालिका र जिल्ला तहसम्म जनपरिचालन चलाउँदै आएको छ।
गत असोज ३१ मा सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयअनुसार कात्तिक २२ गते देशभरका वडामा वडा भेला, कात्तिक २५ मा पालिकास्तरीय र्याली तथा कात्तिक २९ मा जिल्ला स्तरीय जनसभा गरिसकिएको गौतमले बताए। उनका अनुसार आजको कार्यक्रमपछि जनपरिचालनको पहिलो चरण औपचारिक रूपमा समापन हुनेछ। त्यसपछि मंसिर २७ गते ११औं महाधिवेशनको उद्घाटनका क्रममा फेरि काठमाडौंमा विशाल जनसभा गर्ने तयारी भइरहेको छ।
आजको र्याली प्रदर्शनी मार्गबाट सुरु भई रत्नपार्क परिक्रमा हुँदै भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ। जनसभालाई अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।















