१६ मंसिर, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका पूर्वी भूभागस्थित दुई महत्वपूर्ण सहर आफ्नो सेनाले नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
अमेरिकाका विशेष दूत स्टिभ विटकोफसँग मस्कोमा हुन लागिरहेको उच्चस्तरीय भेटअघि आएको यो दाबीलाई निरीक्षकहरूले ‘कुटनीतिक दवाव बनाउन खोजिएको संकेत’का रूपमा व्याख्या गरेका छन् ।
पुटिनले कब्जामा लिइएको दाबी गरेका पोक्रोभस्क र भोभ्चान्स्क दुवै सहर रुस–युक्रेन युद्धमा रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छन्। पोक्रोभस्कलाई युक्रेनका लागि एक प्रमुख ‘रक्षात्मक किल्ला’को रूपमा हेरिन्छ। रुसले एक वर्षभन्दा बढी समयसम्म ठूलो क्षति व्यहोर्दै यो क्षेत्रमा आक्रमण जारी राख्दै आएको छ।
त्यस्तै, खार्किभ क्षेत्रअन्तर्गत रुसको सीमा नजिक रहेको भोभ्चान्स्कमा पनि रुसी सेनाले लामो समयदेखि दवाब बनाइरहे पनि निर्णायक सफलता हासिल गर्न सकेको देखिंदैन। यी क्षेत्रमा पछिल्ला हप्ताहरूमा तीव्र भिडन्त जारी छन्।
तर युक्रेनले पुटिनको दाबीलाई तत्क्षण खारेज गर्दै यो ‘पूर्णतः झूटा प्रचार’ भएको आरोप लगाएको छ। युक्रेनी सेनाले दुबै सहरमा अझै पनि कडा प्रतिरोध जारी रहेको बताएको छ। युक्रेनका रक्षा अधिकारीहरूको भनाइमा, “रुसले युद्धको वास्तविक परिणामलाई ढाकछोप गरेर विश्व समुदायमा भ्रामक सन्देश दिन खोजिरहेको छ।”
विशेष दूत विटकोफको मस्को भ्रमणलाई पनि यो दाबीले प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ। रुसले अग्रपंक्तिमा आफू बलियो रहेको देखाउन खोजिरहेकाले शान्ति सम्झौताको आवश्यकता नभएको संकेत दिन पुटिनको यो कदम लिएको एपी न्युजसमेतले उल्लेख गरेको छ।
रुस–युक्रेन युद्ध सुरु भएको करिब तीन वर्ष बितिसक्दा पनि द्वन्द्व अन्त्यका संकेत कमजोर हुँदै गएको छ। पछिल्ला दिनहरूमा दुवै देशका सीमावर्ती क्षेत्रमा युद्ध झनै तीव्र बन्दै गएको छ भने कुटनीतिक प्रयासहरू पनि अनिश्चित बन्दै गएका छन्।

















