Logo

१३ चैत,वीरगञ्ज । चैती छठमा पनि श्रीसिया नदीको प्रदूषण नहट्दा छठपूजा गर्नेहरू दुःखी भएका छन् ।वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएसँगै शपथग्रहण तथा घोषणासभामा श्रीसिया नदीलाई प्रदूषण मुक्त गर्ने घोषणा गरेका थिए ।

तर कात्तिक महीनाको छठ र अहिले चैती छठमा पनि श्रीसिया नदी प्रदूषण मुक्त नभएको र प्रदूषणका कारण छठपूजा गर्दा पूर्ववत् समस्या झेल्नुपरेको रामगढवा छठपूजा समितिका सचिव रामराज्य यादवले गुनासो गरे । उनले उद्योगहरूबाट निस्कने फोहर, प्रदूषित पानी श्रीसिया नदीमा सीधैं बगाउने कार्य नरोकिएकाले अहिले पनि श्रीसिया नदी प्रदूषित अवस्थामा बगिरहेको बताए ।

महानगरपालिकाले भने नदी प्रदूषण रोकथामका लागि उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा टोली बनाएको छ । टोलीले यसअघिदेखि मङ्गलवारका दिन नदी वरिपरिका उद्योगहरूको अनुगमन गर्दै उद्योगको पानी सीधैं नदीमा नबगाउन निर्देशन दिंदै आएको थियो । यसैगरी, सरोकारवालासँग विभिन्न चरणमा छलफल, अन्तक्र्रिया पनि गरेको थियो ।

नदीको प्रदूषण हटाउन महानगरले नदी वरिपरि र सो नदीमा उद्योगको प्रदूषित पानी बगाउँदै आएका उद्योग सञ्चालकहरूलाई अविलम्ब पानी प्रशोधन केन्द्र स्थापना गर्न र प्रशोधित पानी मात्र नदीमा विसर्जन गर्न निर्देशन दिंदै आएको छ ।

महानगरपालिकाले यसखाले निर्देशन दिए पनि उद्योगहरूले महानगरको निर्देशनलाई अटेर गर्दैै आएका कारण श्रीसिया नदी प्रदूषण मुक्त हुन सकेको छैन ।साभार—प्रतिक


सम्बन्धित समाचार