Logo

२६ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुल सहित चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोक नजिक गरिएको सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरी ७६ हजार १ सय ७० पिस ट्रामाडोल क्याप्सुल बरामद गरेको जानकारी दिएको छ। पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी गाडी रोकेर तलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू केही समयदेखि अवैध रूपमा लागुऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा राखिएका थिए। सोही निगरानीपछि गाडीमा राखिएको झोलाभित्र लुकाइएका क्याप्सुल बरामद गरिएको जनाइएको छ।

पक्राउ परेकामध्ये वीरगन्ज महानगरपालिका–२४का युवराज पटेल र अफजल देवान, धादिङ बेनीघाट–रोराङ गाउँपालिका–६का रामहरि मगर, तथा धादिङकै सिद्लेख गाउँपालिका–७का राजकुमार मगराती रहेका छन्।

हाल उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि अग्रसर गरिएको र थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार