२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नीतिगत दरलाई ४ दशमलव ५० प्रतिशतबाट घटाएर ४ दशमलव २५ प्रतिशतमा झारेसँगै त्यसको प्रत्यक्ष प्रभाव बैंकहरूको ब्याजदरमा देखिएको छ ।
उच्च तरलता र कर्जा प्रवाहमा सुस्तताको अवस्थामा नीतिगत दरमा आएको यो परिवर्तनले वाणिज्य बैंकहरूलाई निक्षेपको ब्याजदर थप घटाउन दबाब दिएको हो । २० वटा वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार, व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदर मंसिरको तुलनामा औसतमा ० दशमलव २० प्रतिशत बिन्दुले घटेको छ ।
मंसिरमा औसत ५ दशमलव ०४०५ प्रतिशत रहेको अधिकतम ब्याजदर पुस महिनाका लागि घटेर ४ दशमलव ८३४ प्रतिशतमा कायम भएको छ । यसको फलस्वरूप व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरूमा लगानीयोग्य रकमको उपलब्धता पर्याप्त हुनु र केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन जस्ता उपकरण प्रयोग गरिरहेको अवस्थामा ब्याजदरमा आएको यो गिरावटलाई स्वाभाविक मानिएको छ ।
















