Logo

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल चुनावी प्रतिस्पर्धा गर्ने पार्टी मात्र नभई ुदेश सम्हाल्नेु महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् ।

नेपाली कांग्रेस ललितपुरले आज जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी जोडिएको हुने र शक्ति चुक्दा त्यसको मूल्य देशले चुकाउनुपर्ने धारणा राखे । उनले कांग्रेसलाई निर्वाचन जित्नका लागि मात्र नभई देशलाई वर्तमान कुशासनबाट निकास दिनका लागि पनि आवश्यक रहेको भन्दै पार्टीलाई हिम्मत र साथ दिन आग्रह गरे ।

विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्याएको र आफू हारेर पनि देशलाई जिताउने पार्टीको रूपमा प्रमाणित गरेको उल्लेख गर्दै थापाले कांग्रेसले सबैलाई समेट्ने प्रयास गरिरहेको बताए । निर्वाचनको परिणाम जे आए पनि देशलाई जिताउने मुख्य काम कांग्रेसकै भएको उनको भनाइ थियो । भीडलाई उत्तेजित बनाउने कामभन्दा पनि कुशासनबाट आजित नागरिकलाई सम्हालेर देशलाई सुशासन र विकासको उचाइमा पुर्‍याउने जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको उनले स्पष्ट पारे । थापाले कांग्रेसले फेरि एकपटक देश सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले पार्टीभित्रका गल्ती कमजोरी सुधार्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले विगतको स्थानीय चुनावमा ५६ प्रतिशत जीत हासिल गरेको स्मरण गर्दै पार्टी पुनरागमनले आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । सोही अवसरमा ललितपुर महानगरपालिकाका वडाध्यक्षहरू निर्मल तण्डुकार र गणेश केसीसहित अन्य नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए ।


सम्बन्धित समाचार