Logo

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधिसम्मत र सामूहिक नेतृत्व प्रणालीअन्तर्गत ठीक ढङ्गले सञ्चालन गर्नकै लागि आफूले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।

महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्नु अत्यावश्यक रहेको धारणा व्यक्त गरे । पोखरेलले भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको हुँ ।’

उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई विचार, सङ्गठन र नेतृत्वमा पुनर्गठित तथा पुनर्व्यवस्थित गर्दै कार्यसम्पादनमा समेत सुधार गरी ‘अपडेटेड’ रूपमा अघि बढाउनु जरुरी रहेको बताए ।

एमालेको महाधिवेशनमा अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धालाई उनले स्वाभाविक रूपमा लिएको बताए । हिजो भूमिगत अवस्थामा समेत प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै पोखरेलले जनताको बहुदलीय जनवादबाट निर्देशित खुला पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु कुनै पनि अर्थमा अस्वाभाविक नभएको उल्लेख गरे ।


सम्बन्धित समाचार