१ पौष, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ, जसका लागि महाधिवेशन स्थल भृकुटीमण्डपमा बिहानैदेखि नेता-कार्यकर्ताको बाक्लो उपस्थिति छ।
यद्यपि, निर्वाचन आयोगले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समयतालिका सार्वजनिक गरे पनि, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्राविधिक कारणले गर्दा मतदान सुरु हुन दिउँसो चार बज्न सक्ने अनुमान गरिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा रहेका छन्, जहाँ ओलीको प्यानलबाट महासचिवमा शंकर पोखरेल र ईश्वरको प्यानलबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।
मतदान सुरु हुनुअघिको माहोलमा केपी शर्मा ओली पक्षका नेताहरू महाधिवेशन स्थलमा आक्रामक र मुखर प्रचार गरिरहेका छन्, जसले गर्दा फिल्डमा ओली पक्ष हावी भएको देखिन्छ। यसको विपरीत, अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेल समूह भने फिल्डमा सुस्त वा कम सक्रिय देखिएको छ। तर, नेताहरूको भनाइ अनुसार ईश्वर पोखरेल समूहले भित्री रणनीतिहरूमा जोड दिइरहेको छ र आफ्नो ध्यान ‘फिल्ड वर्क’ भन्दा ‘टेबुल वर्क’ मा केन्द्रित गरेको छ।
खासगरी, ओली प्यानलमा समावेश हुन नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका प्रभावशाली नेताहरूसँग ईश्वर समूहले गहन संवाद गरिरहेको बुझिएको छ, जुन भित्री रणनीतिको मुख्य अंश हो । ओली प्यानलबाट उपाध्यक्षका आकांक्षी रहेका रघुजी पन्तले प्यानलमा नपरेपछि उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी, ओली निकट मानिने र पदाधिकारीका आकांक्षीद्वय अग्नि खरेल (पूर्व महान्यायाधिवक्ता र मन्त्री) र कृष्णगोपाल श्रेष्ठ ९पूर्व मन्त्री० ले पनि प्यानलबाट केन्द्रीय सदस्यमा मात्रै समेटिएपछि क्रमशः सचिव र पदाधिकारीका अन्य पदमा उम्मेदवारी दिएका छन्। साथै, ओली प्यानलमा नपरेपछि नेता लालबाबु पण्डितले सचिव पदमा र भीम आचार्यले उपाध्यक्ष पदमा पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यी स्वतन्त्र उम्मेदवारहरू, जो मुख्य गरी ओली निकट भएर पनि प्यानलमा अटाउन नसकेका हुन्, उनीहरूसँगको भित्री गठबन्धन वा समर्थन नै ईश्वर पोखरेल समूहको मुख्य ूट्रम्प कार्डू हुने आकलन गरिएको छ।















