Logo

१५ चैत,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण भई सञ्चालनमा आएको छ । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै राउण्ड टेबल नेपालसँगको समन्वयमा निर्माण गरेको डायलाइसिस भवनको स्वामित्व आज एक समारोहका बिच अस्पताललाई हस्तान्तरण गरेसँगै सञ्चालनमा आएको हो ।

सिद्धार्थ बैंकले नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न गत असोज २६ गते अस्पताल र राउण्ड टेबल नेपालसँग सम्झौता गरेको थियो । सोही सम्झौता बमोजिम बैंकले उपलब्ध गराएको ५५ लाखको लागतमा महाविर कन्स्ट्रक्शनले निर्माण सम्पन्न गरेसँगै अस्पताललाई हस्तान्तरण गरेको हो । सिद्धार्थ बैंकका सञ्चालक समिति अध्यक्ष मनोज केडियाले बैंकले व्यवसायिक कारोवारसँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।

नारायणी अस्पतालमा डायलाइसिसका बिरामीको उपचारका लागि भवन अभावको समस्यालाई मध्यनजर गर्दै बैंकले यसमा आर्थिक सहयोग गरेको केडियाको भनाई छ । भवन निर्माणमा मात्रै बैंकको जिम्मेवारी नसकिएको बताउँदै आगामी दिनमा अस्पतालको सेवा प्रवाहलाई चुस्त दुरुस्त एवम् व्यवस्थित र प्रभावकारी बनाउन सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भवन सही तरिकाले उपयोग हुने र प्रभावित बिरामीहरुले यसबाट लाभ लिने विश्वास व्यक्त गर्नुभएको छ । अस्पतालको वातावरण हेरेरै बिरामीको आधा रोग निको हुने गरी व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारी कामकाजको ढिलासुस्तीमा आवश्यक स्रोतको अभाव रहेको औँल्याउनुभयो । निजी क्षेत्र र सरकारी क्षेत्रबिचको समन्वय र सहकार्यले नै समृद्धि हासिल गर्न सकिने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।

यता भवनको सही तरिकाले उपयोग गर्ने बताउदैँ नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रञ्जन साहले यसबाट अस्पतालको ठूलो समस्या समाधान भएको बताउनुभयो । भवनबाट डायलाइसिसका बिरामीको उपचारमा टेवा पुग्ने बताउँदै उहाँले आगामी दिनमा अस्पतालले सेवाको दायरालाई अझै फराकिलो पार्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले आगामी दिनमा पनि बैंक र राउण्ड टेबल नेपालले सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

सिद्धार्थ बैंकका मधेश प्रदेश प्रमुख प्रबिन ढुङ्गेलले बैंकले २ दशकभन्दा लामो समयदेखि व्यवसायिक कारोवारसँगै सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो । नेपालभरि १ सय ९४ वटा शाखाबाट सेवा प्रवाह गरीरहेको बताउँदै उहाँले उद्योगी व्यवसायीसँग समेत सहकार्य गर्दै उत्पादनशिलता र उद्यमशिलतालाई बैंकले बढावा दिने गरेको बताउनुभयो ।

 


सम्बन्धित समाचार