२ पुस, सेढ्वा (पर्सा) । पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय पर्साअन्तर्गतका राष्ट्रिय वन क्षेत्रबाट निस्कने जंगली जनावरले स्थानीय किसानलाई चिन्तित बनाएको छ। विशेषगरी जंगलको सीमासँग जोडिएका क्षेत्रका किसानहरूले हिउँदे बालीमा ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन्।
ठोरी, जिराभवानी र पटेर्वासुगौली गाउँपालिकाको उत्तरी क्षेत्रका किसानले गहुँ, तोरी, आलु, सुर्ती, राजमा लगायतका बाली जंगली जनावरले खाने, माड्ने र नष्ट गर्ने गरेको बताएका छन्।
जिराभवानी गाउँपालिका–२ की किसान दधिमाया पौडेलका अनुसार राति नीलगाई, घोडगदाहा, चितल, हरिण र बदेलले बालीमा क्षति पुर्याउँछन् भने दिनभरी जंगलबाट निस्कने मयूर र बाँदरको समूहले पनि बाली नष्ट गर्ने गरेको छ। “दिनमा केही हदसम्म गुलेली प्रयोग गरी जनावर धपाउन सकिन्छ, तर राति बाली जोगाउन निकै कठिन छ,” उनले गुनासो गरिन्।
यसैबीच, पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पञ्चमुखी सामुदायिक वन समूहले जंगलको सीमामा जडान गरेको विद्युतीय तारबार विगत दुई वर्षदेखि बिग्रिएको स्थानीयवासीले बताएका छन्। तारबार सञ्चालनमा रहेको बेला जंगली जनावरको आक्रमण केही हदसम्म नियन्त्रणमा आएको भए पनि हाल मर्मत नहुँदा समस्या बढ्दै गएको उनीहरूको भनाइ छ।
किसानहरूले सम्बन्धित निकायसँग तारबार तत्काल मर्मत गरी प्रभावकारी संरक्षणको व्यवस्था गर्न माग गरेका छन्।















