Logo

२ पौष, काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रियामा निर्वाचन आयोगले एकाएक कडाइ गरेको छ ।

मतदान सुरु भएको केही समयसम्म मतदाताहरूलाई मोबाइल फोन र उम्मेदवारहरूको नामावली सूची (पर्चा) लैजान दिइएपछि पछि कडाई गरिएको हो । प्यानलगत रूपमा उम्मेदवारहरूको सूची बाँडिएको खबर सार्वजनिक भएपछि त्यसलाई पूर्ण रूपमा रोक लगाएको जनाइएको छ । विशेष गरी अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडिरहेका थिए, जसले मतदानको गोपनीयता र निष्पक्षतामा प्रश्न उठाउन सक्ने देखिएपछि सुरक्षा र नियमनमा कडाइ गरिएको हो ।

आज बिहान ९ बजेर २० मिनेटदेखि सुरु भएको मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ । अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले सँगसँगै मतदान गरेर चुनावी प्रक्रियाको सुरुवात गरे पनि मतदानको गति भने निकै सुस्त देखिएको छ । बिहान साढे ११ बजेसम्मको तथ्याङ्क अनुसार करिब साढे तीन सय मत मात्र खसेको छ, जसले २ हजार २ सय ६३ कुल प्रतिनिधिहरूले मतदान गरिसक्न मध्यरातसम्म कुर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै