२ पौष, काठमाडौं । नेपालमा पछिल्लो समय राजनीतिक अस्थिरता र जेनजी आन्दोलन जस्ता सामाजिक हलचलका बावजुद वैदेशिक लगानीकर्ताको मनोबल उच्च देखिएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । यस अवधिमा कुल ४३८ वटा परियोजनाका लागि विदेशी लगानी स्वीकृत भएको छ, जसमा साना, मझौला र ठुला सबै प्रकारका उद्योगहरू समेटिएका छन् । विशेष गरी भदौ महिनामा मात्रै ३३ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता आउनुले आन्दोलन र राजनीतिक परिवर्तनले लगानीको वातावरणमा खासै नकारात्मक असर नपारेको सङ्केत गर्दछ ।
लगानीको क्षेत्रगत विश्लेषण गर्दा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताहरूको आकर्षण निकै लोभलाग्दो देखिएको छ। संख्यात्मक हिसाबले कुल परियोजनाको ५४ प्रतिशत हिस्सा ओगट्दै आईसीटी क्षेत्रमा २३६ परियोजना स्वीकृत भएका छन् भने पर्यटन क्षेत्रका लागि १३५ परियोजनामार्फत १० अर्ब १२ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ। यद्यपि, लगानी रकमका आधारमा भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। यस क्षेत्रका केवल १३ परियोजनाका लागि झन्डै २२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ, जसले नेपालको कृषि क्षेत्रमा ठूला वैदेशिक कम्पनीहरूको चासो बढ्दै गएको पुष्टि गर्छ।
पछिल्लो समय विदेशी लगानीकर्ताहरूले ठूला र दीर्घकालीन ऊर्जा परियोजनाभन्दा पनि साना, छिटो प्रतिफल दिने र सेवा क्षेत्रमा आधारित उद्योगहरूलाई प्राथमिकतामा राखेको देखिन्छ। ऊर्जा र पूर्वाधार जस्ता रणनीतिक क्षेत्रमा नीतिगत अस्थिरता र झन्झटिलो प्रक्रियाका कारण आकर्षण केही न्यून देखिए पनि समग्र वैदेशिक लगानीको चित्र सकारात्मक छ।
मङ्सिर महिनामा मात्रै ५६ वटा उद्योगका लागि करिब २ अर्बको प्रतिबद्धता आउनु र विभागले यस अवधिमा १७८२ जना विदेशी लगानीकर्तालाई भिसा सिफारिस गर्नुले नेपालको व्यावसायिक बजारमा बाह्य देशहरूको निरन्तर रुचि रहेको स्पष्ट पार्छ।















