३ पौष, काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले आफ्नो अग्रतालाई थप मजबुत बनाउनुभएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो प्रारम्भिक मतपरिणाम अनुसार ओलीले ३३३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ११० मत मात्रै पाउनुभएको छ । सुरुवाती चरणदेखि नै फराकिलो अन्तर कायम गर्नुभएका ओली र पोखरेलबीचको यो मतान्तरले एमालेको आगामी बागडोर पुनः ओलीकै हातमा पुग्ने बलियो संकेत गरेको छ ।
अध्यक्ष मात्र नभई पार्टीको कार्यकारी पद मानिने महासचिवमा पनि प्रतिस्पर्धा रोचक देखिएको छ। पछिल्लो अपडेट अनुसार महासचिवका उम्मेदवार शंकर पोखरेल २४९ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने उहाँलाई सुरेन्द्र पाण्डेले १४९ मतका साथ पछ्याइरहनुभएको छ। पोखरेल र पाण्डेबीचको यो १०० मतको अन्तरले निर्वाचनको नतिजा कुन दिशातिर जाँदैछ भन्ने थप प्रस्ट पारेको छ। विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानको गणना जारी रहेकाले अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको नतिजा पनि क्रमशः सार्वजनिक हुने क्रममा छ।















