Logo

३ पौष, काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा लगातारको वृद्धिले नयाँ उचाइ कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्दै २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य गत सोमबार कायम भएको हालसम्मकै उच्च रेकर्ड २ लाख ६० हजार ७ सय रुपैयाँको निकै नजिक पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको सीधा असर स्थानीय बजारमा पर्दा सुनको भाउ पुनः २ लाख ६० हजारको मनोवैज्ञानिक विन्दुभन्दा माथि उक्लिएको छ।

सुनसँगै चाँदीको मूल्यले पनि बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले वृद्धि भएसँगै चाँदीको भाउ ४ हजार ८० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो। गत बुधबार ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीले पछिल्लो दुई दिनदेखि लगातार आफ्नै पुराना रेकर्डहरू तोड्दै नयाँ उचाइ चुमिरहेको छ ।

विवाह र चाडपर्वको सिजन नजिकिँदै गर्दा सुनचाँदीको यस प्रकारको अस्वभाविक मूल्य वृद्धिले उपभोक्ताहरूमा भने चिन्ता थपिदिएको छ।


सम्बन्धित समाचार
भर्खरै