Logo

काठमाडौं । नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओलीले ऐतिहासिक ह्याट्रिक गर्नुभएको छ।

चितवनमा जारी महाधिवेशनको अन्तिम चरणको मतगणना अनुसार ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको हो। यसअघि नवौँ र दशौँ महाधिवेशनबाट नेतृत्व सम्हाल्नुभएका ओलीले यसपटक पनि आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै एमालेको बागडोर पुनः आफ्नो हातमा लिन सफल हुनुभएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार ओलीले १६ सय ६३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी पोखरेलले जम्मा ५ सय ६४ मत मात्रै प्राप्त गर्नुभएको छ।

यस जितसँगै एमालेको झण्डै १५ वर्ष लामो नेतृत्वको इतिहासमा ओलीको प्रभाव अझै अविच्छिन्न रहने निश्चित भएको छ। निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी रहे तापनि प्राप्त मतको यो विशाल अन्तरले ओलीको जीतलाई सुनिश्चित गरिसकेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धामा ओलीले प्राप्त गरेको यो जनमतले उहाँको राजनीतिक कद र संगठनमाथिको बलियो पकडलाई पुनः पुष्टि गरेको छ। अबको कार्यकालमा ओलीले पार्टीलाई कुन दिशामा लैजानुहुन्छ भन्ने कुराले राष्ट्रिय राजनीतिमा समेत ठूलो अर्थ राख्ने देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै