Logo

३ पौष, काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै पार्टीको आन्तरिक सत्तामा केपी शर्मा ओलीको प्रभाव पुनः एकपटक निर्विवाद रूपमा स्थापित भएको छ ।

निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले भारी मतान्तरले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ह्याट्रिक गर्नुभएको छ। ओलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले ५ सय ६४ मत मात्रै पाउनुभएको छ। अध्यक्ष मात्र नभई पार्टीको अर्को शक्तिशाली पद महासचिवमा पनि संस्थापन पक्षकै शंकर पोखरेल विजयी हुनुभएको छ, जसले पार्टीको आगामी कार्यदिशा र संगठन परिचालनमा ओली समूहकै पूर्ण नियन्त्रण रहने निश्चित गरेको छ।

निर्वाचनको रोचक पक्ष के छ भने, १९ सदस्यीय पदाधिकारी टोलीमा संस्थापन पक्षको स्पष्ट वर्चस्व देखिए पनि केही पदमा ईश्वर पोखरेल प्यानलका उम्मेदवारहरूले पनि जीत दर्ता गराएका छन्। उपाध्यक्ष पदमा पोखरेल समूहका गोकर्ण विष्ट निर्वाचित हुन सफल हुनुभएको छ भने उपमहासचिवमा सोही समूहका योगेश भट्टराईले बाजी मार्नुभएको छ। तर, सचिव पदका ९ वटै सिटमा भने ओली प्यानलका उम्मेदवारहरूले ुक्लिन स्वीपु गर्दै आफ्नो पकड मजबुत बनाएका छन्। पदाधिकारीसँगै केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूमा पनि ओली पक्षकै उम्मेदवारहरू हाबी देखिएका छन्, जसले एमालेको नयाँ कार्यसमितिमा संस्थापन पक्षलाई सहज बहुमत प्रदान गरेको छ।

यो चुनावी परिणामले एमालेभित्रको शक्ति सन्तुलनमा ओलीको विकल्प तत्काललाई नरहेको सन्देश दिएको छ। यद्यपि, विपक्षी प्यानलबाट उपाध्यक्ष र उपमहासचिव जस्ता महत्वपूर्ण पदमा एक–एक जनाको प्रतिनिधित्व हुनुले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र फरक मतको उपस्थितिलाई पनि जीवन्त राखेको छ। विद्युतीय भोटिङ मेसिनमार्फत भएको यस निर्वाचनको नतिजा सार्वजनिक भएसँगै एमाले अब नयाँ ऊर्जाका साथ आगामी राजनीतिक कार्यभार पूरा गर्न अघि बढ्ने देखिएको छ।

अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)
अरूण नेपाल : ४३९
गुरुप्रसाद बराल : ११३७
गोकर्णराज विष्ट : १३६८
टकंप्रसाद कार्की  ः ३५८
परशुराममेघी गुरुङ : ४६१
पृथ्वीसुब्बा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५

महासचिव (१)
शंकर पोखरेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९

उपमहासचिव (३)
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

सचिव (९)
अग्निप्रसाद खरेल : ७१६
ईन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १२३१
गोकुलप्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुरप्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०
पुरुषोत्तम पौडेल : ४६२
पेम्बा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यामलाल कँडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल  ः ६८४
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७


सम्बन्धित समाचार
भर्खरै