३ पौष, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि नेता ईश्वर पोखरेलले चुनावी नतिजालाई सहज रूपमा स्वीकार गर्दै पार्टीको बृहत्तर हितमा आफ्नो सक्रियता कायमै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मतदानको अन्तिम परिणाम सार्वजनिक भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले आफूलाई विश्वास गर्ने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार प्रकट गर्नुभएको हो । पोखरेलले नेतृत्वको प्रतिस्पर्धामा यसपटक सफल हुन नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतन्त्रको रक्षा र समाजवादको आधार निर्माण गर्ने एमालेको मूल अभियानमा आफ्नो संलग्नता र सहभागिता अविचलित र अटुट रहने स्पष्ट पार्नुभएको छ ।
विज्ञप्तिमा नेता पोखरेलले महाधिवेशनका क्रममा आफूले उठाएका वैचारिक र साङ्गठनिक मुद्दाहरू आगामी दिनमा पनि उत्तिकै सान्दर्भिक रहने जिकिर गर्नुभएको छ। उहाँले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा पार्टीभित्र सामूहिक नेतृत्वको विकास, विधि र पद्धतिमा आधारित सङ्गठन सञ्चालन तथा ुनियन्त्रण र सन्तुलनु को सिद्धान्त पालना हुनुपर्ने विषयमा बहस जारी रहने विश्वास व्यक्त गर्नुभएको छ ।
चुनावी हारलाई केवल एक प्रक्रियाको रूपमा लिँदै उहाँले पार्टीलाई सही र लोकतान्त्रिक दिशामा डोहोर्याउन आफ्ना एजेण्डाहरूले नयाँ उचाइमा छलफलको अवसर पाउने आशा व्यक्त गर्नुभएको छ।















