Logo

३ पुस, वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका भेला भव्यताका साथ सम्पन्न भएको छ। उक्त भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा नौ सदस्यीय नयाँ पालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

भेलाबाट निर्वाचित नयाँ समितिको पदाधिकारी र सदस्यहरू यस प्रकार रहेका छन्:

  • सभापति: शम्भु प्रसाद यादव

  • उपसभापति: सञ्चिता बुढाथोकी

  • सचिव: अफजल हुसैन

  • कोषाध्यक्ष: प्रभु प्रसाद महतो

  • सहसचिव: जनक राज कँडेल

  • सदस्यहरू: विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी।

भेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै रास्वपा पर्साका जिल्ला सभापति हरी पन्तले पछिल्लो समय विकसित भएको राजनीतिक चेतना र ‘जेनजी (Gen Z) विद्रोह’ले नेपालका स्थापित पुराना दलहरूको सान्दर्भिकता सकिएको दाबी गर्नुभयो।

सभापति पन्तले भन्नुभयो, “भाद्र २३ र २४ को घटनाक्रमले नेपाली राजनीतिमा काँग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरूको अस्तित्व र सान्दर्भिकता समाप्त भएको सन्देश दिएको छ। यसले रास्वपा जस्ता वैकल्पिक शक्तिको आवश्यकता र महत्त्वलाई जनतामाझ झनै बलियो गरी स्थापित गरिदिएको छ।” उहाँले आउँदो निर्वाचनमा रास्वपालाई भारी मतका साथ विजयी गराउन स्थानीय बासिन्दाहरूसँग आग्रह समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै रास्वपा उपसभापति तुलसा पौडेल, नेताहरू अमन आलम, सबबु कँडेल, महेन्द्र दास र सोनालाल पटेल लगायतले पार्टीको संगठन विस्तार र सुशासनका मुद्दामा जोड दिनुभएको थियो।

रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण कृष्णा पासवानले गर्नुभएको थियो। सखुवा प्रसौनीमा पहिलो पटक भएको यस पालिका भेलाले स्थानीय स्तरमा रास्वपाको संगठनलाई थप चलायमान बनाउने विश्वास लिइएको छ।


सम्बन्धित समाचार
भर्खरै