Logo

११ पौष, काठमाडौँ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संघसंस्था र स्थानीय तहहरूले विविध कार्यक्रम सञ्चालन गरेका छन् ।

विसं २०५१ पुस ११ गते नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो । दिवसले समाज र राज्यका लागि ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यलाई पुनः स्मरण गराउने विश्वास लिइएको छ । जीवनको लामो यात्रामा ज्येष्ठ नागरिकले गरेको त्याग, सेवा र योगदान समाजका लागि अमूल्य सम्पत्ति भएको सरोकारवालाको भनाइ छ ।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । संविधानले स्वास्थ्य सेवा, सम्मानजनक जीवन र आवश्यक सहयोग प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेकाले ज्येष्ठ नागरिकको गरिमामय जीवनका लागि कानुनी आधार बलियो बनेको छ ।

नेपालमा पहिलो पटक विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई मासिक १०० रुपैयाँ वृद्धभत्ता दिने निर्णय गरेको थियो । समयक्रमसँगै वृद्धभत्ताको रकम वृद्धि हुँदै हाल मासिक चार हजार रुपैयाँ पुगेको छ । हाल देशभर करिब १७ लाख ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्धभत्ता प्राप्त गर्दै आएका छन् ।

दिवसको अवसरमा वक्ताहरूले ज्येष्ठ नागरिकलाई परिवार, समाज र राज्यले थप सम्मान, संरक्षण र अवसर दिनुपर्नेमा जोड दिएका छन् । साथै, उनीहरूको ज्ञान, अनुभव र सीपलाई समाज विकासमा उपयोग गर्न सकिने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।


सम्बन्धित समाचार