११ पौष, काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानमा बाक्लो हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि तराई भूभागका धेरै स्थानमा हुस्सु कायमै रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा बिहान केही समय कुहिरो लाग्ने सम्भावना रहेको छ भने बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरो देखिन सक्ने अनुमान गरिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहने पूर्वानुमान छ।
त्यसैगरी, आज राति तराईका अधिकांश स्थानमा हुस्सु लागिरहनेछ भने सबै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।















