Logo

१४ पौष, काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-१ स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका-११ बस्दै आएका ३८ वर्षीय विशाल कटुवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार कटुवालले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीमा लैजाने भन्दै रकम असुली गरी सम्पर्कविहीन बनेका थिए ।

पीडितहरूको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको र सोही क्रममा कीर्तिपुरबाट कटुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनले न्युजिल्याण्ड पठाइदिने भन्दै एक व्यक्तिबाट १० लाख रुपैयाँ लिएको खुलेको छ ।

पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सतर्क रहन र शंका लागेमा सम्बन्धित निकायमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार