Logo

१४ पुष, काठमाडौं । धितोपत्र बजारमा अस्वाभाविक चलखेल गरेको आरोपमा पक्राउ परेका चर्चित शेयर कारोबारी दीपेन्द्र अग्रवाल सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतबाट मुक्त भएका छन् ।

काठमाडौं जिल्ला अदालतले तोकेको ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ ९० पैसा धरौटी रकम बुझाएपछि उनी थुनामुक्त भएका हुन् । अग्रवाललाई धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम झुठो र झुक्क्याउने विवरण दिएर लगानीकर्तालाई भ्रममा पारेको कसुरमा अनुसन्धानका लागि सीआईबीले नियन्त्रणमा लिएको थियो ।

अग्रवालमाथि विशेष गरी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स लगायतका सूचीकृत कम्पनीहरूको शेयर मूल्य कृत्रिम रूपमा बढाएर बजारलाई प्रभावित पारेको गम्भीर आरोप लागेको छ । प्राविधिक विश्लेषण र सामाजिक सञ्जालको प्रयोगमार्फत सर्वसाधारण लगानीकर्तालाई गलत सूचना दिई उनले शेयरको माग र मूल्यमा चलखेल गरेको अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ । धितोपत्र बोर्डको उजुरी र सीआईबीको सूक्ष्म निगरानीपछि उनलाई कानुनी दायरामा ल्याइएको हो ।

अग्रवाल यसअघि पनि विभिन्न विवादित गतिविधि र ठगी तथा आपराधिक लाभ लिने कसुरमा पक्राउ परेर छुटिसकेका व्यक्ति हुन् । गत साउन ५ गते पनि उनी यस्तै प्रकृतिको मुद्दामा हिरासतमा परेका थिए । पटक–पटक वित्तीय अपराध र बजार चलखेलमा नाम जोडिएका अग्रवाल धरौटीमा रिहा भए पनि उनीमाथि लागेका आरोपहरूको न्यायिक प्रक्रिया भने अदालतमा जारी रहनेछ  ।

यो घटनाले नेपाली शेयर बजारमा हुने ‘इन्साइडर ट्रेडिङ’ र मूल्य हेरफेर गर्ने प्रवृत्तिमाथि सुरक्षा निकायको कडा निगरानी रहेको संकेत गरेको छ  ।


सम्बन्धित समाचार
भर्खरै