१४ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको बचत रकमलाई परिचालन गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल ५ अर्ब ५५ करोड रुपैयाँलाई मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागिएको हो । यसका लागि राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले लिन चाहेको रकम र प्रस्ताव गर्ने ब्याजदर खुलाई आगामी पुस १७ गते साँझ ७ बजेभित्र आवेदन दिन आह्वान गरेको छ ।
केन्द्रीय बैंकले कुल लगानी गरिने रकमलाई तीन वर्गका वित्तीय संस्थाहरूमा विभाजन गरेको छ । जसअनुसार वाणिज्य बैंकहरूमा सबैभन्दा बढी ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा राखिनेछ । यो लगानी एक वर्ष अर्थात् ३६६ दिनको अवधिका लागि हुनेछ, जुन सन् २०२६ जनवरी ५ देखि सुरु भई सन् २०२७ जनवरी ५ सम्म कायम रहने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यसरी निक्षेप राख्नका लागि केही अनिवार्य शर्तहरू समेत तोकेको छ, जसमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको पूँजी कोष पर्याप्त हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम हुनुपर्ने र शीघ्र सुधारात्मक कारबाहीमा परेको हुनु नहुने जस्ता मापदण्डहरू रहेका छन् । केन्द्रीय बैंकको यो कदमले वित्तीय प्रणालीमा तरलता व्यवस्थापनका साथै बैंकहरूको निक्षेप आधारलाई समेत थप टेवा पुर्याउने विश्वास गरिएको छ ।















