Logo

२२ चैत्र, बारा । डिभिजन बन कार्यालय बाराले सामुदायिक बनबाट करिब एक सय क्युफिट काठ सहित पिकअप गाडि नियन्त्रणमा लिएको छ । वन कार्यालयबाट १० जनाको समुहमा खटिएको गस्ती टोलीले बिहान करिब ३ः३० बजेको समयमा ५ थान साल जातको गोलिया बरामद गरेको डिभिजन वन अधिकृत बिनोद सिँहले जानकारी दिनुभयो ।

गस्ती टोलीले निजगढ नगरपालिका वडा नं.१ धन्सार छेउबाट सिँगोल जाने बाटोबाट काठ बरामद गरेको हो । ५।७ जनाको समुहमा रहेको तस्कारहरुले वन गस्ती टोलीलाई देखेर पिकअप र काठ छोडेर फरार भएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्दर प्रसाद बैठाले जानकारी दिनुभयो ।

वन गस्ती टोलीले घेरा हालेर काठ तस्करहरुलाई नियन्त्रण गर्न खोज्दा तस्करहरु अध्यारो र जङ्गलको फाईदा उठाउँदै भाग्न सफल भएको उहाँले बताउनुभयो । तस्करहरुले बरामद पिकअप नचिनिन गाडिको अगाडि नम्बर प्लेट तोडेर फालेको र पछाडिको नम्बर प्लेट कोरेर मेट्ने प्रयास गरेका छन् ।

डिभिजन वन कार्यालयले बरामद पिकअपको नम्बर थाह भएको जनाएको छ । पिकअपको नम्बर बा ५ च ५६९६ रहेको र त्यसको धनी पत्ता लगाउने कार्य भईरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जवाहर प्रसाद कुर्मीले जानकारी दिनुभयो । तस्करहरुको खोजी कार्य भईरहेको उहाँले बताउँनुभयो । बरामद काठको मुल्य करिब १० लाख रुपैया रहेको बताईएको छ । एक महिनाको अवधिमा डिभिजन वन कार्यालयले जङ्गलबाट दुईवटा पिकअप सहित काठ बरामद गरेको छ ।


सम्बन्धित समाचार