९ माघ, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व सम्हालेलगत्तै नवनिर्वाचित सभापति गगन थापाले देश रूपान्तरणको मुख्य एजेन्डालाई आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा राख्नुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गर्ने क्रममा थापाले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने मूल सङ्कल्पसहितको प्रतिबद्धता पत्रमा आफ्नो पहिलो हस्ताक्षर गर्नुभएको हो । विशेष महाधिवेशनबाट निर्वाचित भएको आठ दिनपछि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दै उहाँले आफ्नो एक मात्र ध्येय देशको समुन्नति रहेको सन्देश दिनुभएको छ ।
पदबहाली पश्चात् सभापति थापाको अध्यक्षतामा १३५ सदस्यीय नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो औपचारिक बैठक सानेपामा सुरु भएको छ। यसअघि पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसभित्र उत्साह छाएको छ । पहिलो निर्णय नै देश बदल्ने सङ्कल्पमा गरेर थापाले आफ्नो आगामी कार्यकाल नीतिगत स्पष्टता र परिणाममुखी काममा केन्द्रित हुने सङ्केत गर्नुभएको छ ।
















