Logo

११ माघ, काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले आफ्ना कार्यकर्ता र संगठित सदस्यहरूलाई चिठी पठाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको एउटै व्यहोराको चिठी देशभरका ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यहरूको हातहातमा पुग्न थालेको हो । पार्टीले आफ्ना सक्रिय सदस्यहरू मात्र नभई नवीकरण नगरेका पुराना सदस्यहरूलाई समेत समेटेर यो विशेष ‘चिठी अभियान’ सञ्चालन गरेको हो, जसको चर्चा अहिले सामाजिक सञ्जालमा समेत व्यापक भइरहेको छ ।

अध्यक्ष ओलीले पठाएको उक्त पत्रमा आगामी फागुन २१ गते हुने निर्वाचनको महत्वलाई विशेष जोड दिइएको छ । निर्वाचनलाई सामान्य मतदानका रूपमा मात्र नलिन आग्रह गर्दै ओलीले यो चुनावले ‘देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने’ भन्ने ऐतिहासिक फैसला गर्ने उल्लेख गर्नुभएको छ । देशको भविष्य निर्माणका लागि एमालेको एकल बहुमत अपरिहार्य रहेको भन्दै उहाँले हरेक सदस्यलाई आफ्नो जिम्मेवारी बुझ्न र निर्वाचनमा होमिन पत्रमार्फत आह्वान गर्नुभएको छ ।

एमालेले यसअघि नै आफ्ना केन्द्रीय सदस्यहरूलाई यस्तै प्रकृतिको पत्र पठाएर आन्तरिक परिचालन सुरु गरिसकेको थियो । अहिले तल्लो तहसम्मै पुगेको यो पत्राचारले कार्यकर्तामा नयाँ उत्साह थपेको दाबी पार्टी पंक्तिले गरेको छ । चिठी प्राप्त गरेका कतिपय सदस्यहरूले अध्यक्षको हस्ताक्षरसहितको पत्र पाउनुलाई गौरवको विषय मान्दै फेसबुक र ट्विटरमा पोस्ट गरिरहेका छन् ।

निर्वाचनको अन्तिम घडीमा आफ्ना साढे ६ लाखभन्दा बढी ‘क्याडर’ लाई सिधै संवादको माध्यमबाट जोड्ने एमालेको यो रणनीतिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार