१२ माघ, वीरगञ्ज । पर्सा जिल्लामा विगत तीन दशकभन्दा बढी समयदेखि लगातार संसदीय निर्वाचन लड्दै आएका उम्मेदवारहरू यसपटक पनि चुनावी मैदानमा उत्रिएका छन्। ०४८ सालदेखि हालसम्म सबै संसदीय निर्वाचन लड्दै आएका नेपाली कांग्रेसका तीन जना पुराना नेता आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुनः उम्मेदवार बनेका हुन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट ६२ वर्षीय पूर्वमन्त्री अजयकुमार चौरसिया, निर्वाचन क्षेत्र नम्बर ३ बाट ६८ वर्षीय पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी तथा निर्वाचन क्षेत्र नम्बर ४ बाट ६८ वर्षीय पूर्वमन्त्री रमेशप्रसाद रिजाल चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पूर्वमन्त्री रमेशप्रसाद रिजाल आठौँपटक संसदीय निर्वाचनमा होमिएका हुन्। ०४८ सालदेखि संसदीय चुनाव लड्दै आएका उनले चारपटक निर्वाचन जितेका छन् भने तीनपटक पराजय भोगेका छन्। उनी निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत हुन्। रिजालले ०४८, ०५२, ०६४ र ०७९ सालको निर्वाचन जितेका थिए भने ०५६, ०७० र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए। हाल ०८२ सालको निर्वाचनमा पुनः प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका रिजाल शेरबहादुर देउवानिकट नेता मानिन्छन्। ०७९ सालको निर्वाचनपछि उनी पहिलोपटक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए। करिब छ दशक लामो राजनीतिक जीवन बिताएका रिजालले ०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरेका थिए। उक्त निर्वाचनमा रिजालले ३१ हजार १४२ मत प्राप्त गर्दा मन्सुरीले २५ हजार ६१२ मत पाएका थिए।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य ६८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी पनि आठौँपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। ०४८ सालदेखि निर्वाचन लड्दै आएका चौधरीले ०४८, ०५२, ०५६ र ०७० सालमा विजय हासिल गरेका थिए। तर, ०६४, ०७४ र ०७९ सालको निर्वाचनमा उनी लगातार तीनपटक पराजित भएका थिए।
चारपटक सांसद निर्वाचित भइसकेका चौधरी पाँचौँ जितको खोजीमा छन्। उनी नेपाली कांग्रेस पर्साका पूर्वसभापति समेत हुन्। चौधरीले विज्ञान तथा प्रविधि मन्त्रालय तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका केन्द्रीय सदस्य ६२ वर्षीय अजयकुमार चौरसिया छैटौँपटक संसदीय निर्वाचनमा होमिएका छन्। ०५६ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका चौरसियाले ०५६, ०६४ र ०७९ सालको निर्वाचन जितेका थिए भने ०७० र ०७४ सालमा लगातार पराजय व्यहोरेका थिए। उनी यसपटक ०८२ सालको निर्वाचन जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
चौरसियाले ०५६ सालको निर्वाचन जितेपछि सहायकमन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने ०७९ सालको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका थिए। विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनी ०५१ सालदेखि पर्सा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेर पार्टी राजनीतिमा संलग्न भएका थिए।
पर्सामा पुराना र अनुभवी नेताहरूको निरन्तर चुनावी उपस्थितिलाई लिएर मतदातामाझ अनुभव र परिवर्तनबीचको बहस पुनः चर्किएको छ।
















