Logo

१३ माघ, काठमाडौँ । दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीए) अन्तर्गतका सबै प्रक्रिया पूरा गरेर पनि लामो समयदेखि उडानको पर्खाइमा रहेका युवाहरूले मंगलबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

कृषि तथा पानीजहाज निर्माण (सिप बिल्डिङ) क्षेत्रका लागि भाषा र सिप परीक्षा उत्तीर्ण गरी ‘रोस्टर’ मा नाम सूचीकृत भएका तर वर्षदिन बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएका सयौँ युवाहरू आफ्नो भविष्य सुरक्षित गर्न सडकमा ओर्लिएका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरूले ईपीएस प्रणालीभित्रको ढिलासुस्ती र अन्योलका कारण आफूहरू मानसिक तनावमा परेको गुनासो गरेका छन् । विशेष गरी रोस्टरमा नाम रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे सूचीबाट नाम हट्ने प्रावधानले उनीहरूलाई थप चिन्तित बनाएको छ । झापाकी अनिषा बस्नेत जस्ता धेरै परीक्षार्थीहरूको रोस्टर अवधि सकिन लागेकाले सरकारले उक्त अवधिलाई थप दुई वर्ष विस्तार गरिदिनुपर्ने र उत्तीर्ण भएकाहरूलाई छिटो भन्दा छिटो कोरिया पठाउने व्यवस्था मिलाउनुपर्ने माग उनीहरूले राखेका छन् ।

माइतीघरको सडकमा भेला भएका युवाहरूले ‘कृषि तथा पानीजहाजको रोस्टर अवधि थप गर’ भाषा परीक्षा पास गरेकालाई छिटो कोरिया लगियोस्’ र ईपीएसभित्रको लुट धन्दा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । लामो समयको मेहनत र लगानी गरेर भाषा परीक्षा पास गरे पनि रोजगारीको ग्यारेन्टी नहुँदा युवा श्रमशक्ति अलपत्र परेको भन्दै उनीहरूले सम्बन्धित निकायलाई तुरुन्तै कूटनीतिक पहल थाल्न दबाब दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै