Logo

१३ माघ, काठमाडौं । विशेष महाधिवेशनमार्फत आफूलाई ‘बदलिएको कांग्रेस’ दाबी गर्दै नयाँ ऊर्जाका साथ चुनावी मैदानमा होमिएको नेपाली कांग्रेस यसपटक आफ्नै स्थापना दिवस मनाउन चुकेको छ ।

सोमबार अर्थात् माघ १२ गते पार्टी स्थापनाको ८०औँ वर्षगाँठ भए पनि केन्द्रदेखि जिल्ला तहसम्म कतै पनि औपचारिक कार्यक्रम आयोजना गरिएन । विगतका वर्षहरूमा निकै तामझामका साथ स्थापना दिवस मनाउने गरेको कांग्रेसका लागि यसपटक भने आसन्न निर्वाचनको व्यस्तता आफ्नै इतिहास र गौरवगाथाभन्दा माथि परेको देखिएको छ ।

पार्टी सभापति गगन थापा सोमबार आफ्नो चुनावी अभियानको सिलसिलामा सर्लाही प्रस्थान गरेका थिए भने अन्य शीर्ष नेताहरू पनि आ–आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएकाले पार्टीको स्थापना दिवस ओझेलमा परेको हो । २००३ माघ १२ गते भारतको कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको ऐतिहासिक दिनलाई आधार मानेर मनाइने यो उत्सवलाई यसपटक पार्टीको वार्षिक कार्यतालिकामा समेत समेटिएको थिएन । स्थापना दिवसकै दिन दुई महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलले ७७ वटै जिल्लाका सभापतिहरूलाई संयुक्त परिपत्र जारी गरे पनि त्यसमा पार्टी स्थापनाको सन्दर्भ कतै उल्लेख नगरिनुले नेतृत्वको ध्यान केवल निर्वाचन परिचालनमा मात्रै रहेको प्रष्ट पार्छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचन केन्द्रित कार्यक्रमहरूको चापले गर्दा स्थापना दिवसका लागि छुट्टै समय निकाल्न नसकिएको स्वीकार गरेका छन् । चुनावी अभियानहरू देशभर चलिरहेकाले सबै नेताहरू कार्यक्षेत्रमा व्यस्त रहेको र स्थापना दिवसका लागि औपचारिक समारोहको तयारीमा अलमल भएको उनको भनाइ छ ।

महामन्त्री हुँदा गगन थापाले नै वार्षिक क्यालेन्डर बनाएर पार्टीका दिवसहरू अनिवार्य मनाउने प्रस्ताव गरे पनि अहिले उनी आफैँ सभापति रहेको कार्यकालमा ८ दशक लामो इतिहास बोकेको पार्टीले आफ्नै जन्मजयन्ती बिर्सिनुलाई कांग्रेसभित्रै कतिपयले आलोचनाको विषय बनाएका छन् ।


सम्बन्धित समाचार