Logo

१३ माघ,ठोरी । ठोरी गाउँपालिकामा मङ्गलबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। आगामी बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन ठोरी गाउँपालिका कार्यालय घ्याङडाँडामा आयोजित विशेष कार्यक्रममा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शङ्कर प्रसाद चौधरीले गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले विद्यार्थीहरूलाई अनुशासित भएर खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो। उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविकास तथा नेतृत्व क्षमताको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो। फरक प्रसङ्गमा उहाँले आफ्नो निर्वाचन क्षेत्र पर्सा–४ (क) को समग्र विकासका लागि आगामी दिनमा प्रतिबद्ध भएर काम गर्ने उद्घोष गर्नुभयो। मतदाताको शिर झुक्न नदिने, सुशासन कायम गर्ने तथा भ्रष्टाचार अन्त्यमा आफ्नो भूमिका रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले मन्त्री चौधरीको पहलमा वर्षेनी विकास बजेटमा ठूलो लगानी हुँदै आएको उल्लेख गर्दै प्रशंसा गर्नुभयो। यद्यपि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित प्राथमिकता नदिइएकोप्रति दुख व्यक्त गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा थप लगानी गर्न अनुरोध गर्नुभयो।

कार्यक्रममा ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, ठोरी–४ का वडाध्यक्ष मान बहादुर थिङ, ज्ञानवाटिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर नेवार, ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दल बहादुर स्याङ्बो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

ठोरीका ६ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा कुल १५ वटा खेल विधामा छात्र तथा छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने ठोरी गाउँपालिकाका शिक्षा प्रमुख भुपाल कुमार जोशीले जानकारी दिनुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार