Logo

१४ माघ, काठमाडौँ । मंगलबार ठूलो गिरावट बेहोरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सामान्य सुधार देखिएको छ ।

नेप्से परिसूचक ५ दशमलव ३८ अंकले बढेर २७३१ दशमलव ८९ विन्दुमा कायम भएको छ । बजारमा झिनो सुधार आए पनि लगानीकर्ताहरू आगामी निर्वाचन र राजनीतिक सरगर्मीका कारण अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । बुधबार २ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा कुल ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः १९९ दशमलव ७० रुपैयाँ र २७।७० रुपैयाँ (प्रतिकित्ता वृद्धि) पुगेको हो । यसका साथै मिथिला लघुवित्त, पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशतभन्दा बढी आम्दानी गरेका छन् । बुधबार कुल १४१ कम्पनीको सेयर मूल्य उकालो लागेको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी ८३ करोड रुपैयाँसहित शीर्ष स्थानमा रह्यो । त्यस्तै राधी विद्युत्को ५४ करोड, एसवाई प्यानलको ४९ करोड र युनाइटेड मोदी हाइड्रोको ४८ करोडको सेयर किनबेच भएको छ । समूहगत आधारमा हेर्दा बैंकिङ, जीवन बीमा र माइक्रोफाइनान्स उपसमूहमा केही गिरावट देखिए पनि अन्य समूहहरू भने हरियाली रहेका छन् । गुडविल फाइनान्सको डिबेन्चर र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने आज केही गुमाएका छन् ।


सम्बन्धित समाचार