Logo

२५ चैत,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित मल पसलहरुमा राजश्व अनुसन्धान कार्यालयले छापामारि गरेको छ । छापामारि गरि राजश्व अनुसन्धान कार्यालय पथलैयाले भन्सार छलीको १ सय ९१ बोरा भारतीय युरिया मल सहित तीन जनालाई पक्राउँ गरेको हो ।

भन्सार छलीको मल तस्करी गरिरहेको मोटरसाईललाई पछ्याउँदै राजश्व कार्यालयको टोली लक्की मल बिउँ बिजन भण्डार जीतपुर र पुजा ईन्टरप्राईजेज जीतपुरमा छापामारी गरेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत तेज नारायण यादबले जानकारी दिनुभयो ।

राजश्व कार्यालयको छापा पर्ने बित्तिकै अन्य मल पसलहरु जीतपुरमा धमाधम बन्द हुन थालेका थिए । आफुहरुको लक्ष्य कम्तीमा पनि भन्सार छलीको एक हजार भारतीय युरिया मल बरामद गर्नुपर्ने भएपनि जनशक्ति अभावमा पुरा गर्न नसकिएको प्रमुख अनुसन्धान अधिकृत यादबले बताउँनुभयो ।

BR22E6418 र BR05AA8581 नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकल सहित मल तस्करलाई प्रहरी सहित आएको राजश्व अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको छ । बरामद दुबै मोटरसाईकलमा ६।६ बोरा युरिया मल लोड रहेको थियो । राजश्व अनुसन्धान टोलीले लक्की मल बिउँ बिजन भण्डार जीतपुरका सञ्चालक अखतर हुसेनलाई नियन्त्रणमा लिएको छ । लक्की मल बिउँ बिजन भण्डारबाट १०१ बोरा र पुजा ईन्टरप्राईजेजबाट ७८ बोरा भन्सार छलि गरि ल्याईएको युरिया मल बरामद भएको छ ।

पक्राउ परेका तीनै जनामाथि राजश्व छलिको कसुरमा मुद्धा चलाईने राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत यादबले जानकारी दिनुभयो ।

राजश्व कार्यालयले बरामद गरेको युरिया मलको बजार मुल्य करिब दुई लाख रहेको छ । राजश्व अनुसन्धान कार्यालय पथलैयाले गरेको छापामारीमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीको कमाण्डमा सिमरा र ईलाका प्रहरी कार्यालय जीतपुरको टोली खटेको थियो ।


सम्बन्धित समाचार