१९ जेठ, (माडी) चितवन । माडीमा जारी मेयर कप विद्यालयस्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न छात्रतर्फको खेलमा माडी माध्यमिक विद्यालय, बसन्तपुरले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
बसन्तपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा माडी माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालयबीच निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। अत्यन्तै रोमाञ्चक बनेको टाइब्रेकरमा माडी माविले ४–३ गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो।
खेलभर दुवै टोलीले आक्रामक र सन्तुलित प्रदर्शन गरेका थिए। निर्धारित समयमा नतिजा ननिस्किएपछि भएको टाइब्रेकरमा माडी माविका गोलरक्षक कृष्ण महतो निर्णायक सावित भए। उत्कृष्ट गोलकिपिङ गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान पुर्याएका महतो खेलको म्यान अफ द म्याच घोषित भए।
नगर शिक्षा तथा खेलकुद विकास समिति माडीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता “शिक्षासँगै खेलकुद” भन्ने नारासहित अघि बढिरहेको छ। प्रतियोगिताले विद्यालयस्तरका विद्यार्थीहरूमा खेलप्रतिको रुचि, अनुशासन, प्रतिस्पर्धात्मक भावना र प्रतिभा विकासमा सकारात्मक भूमिका खेलिरहेको आयोजकको विश्वास छ।
उपाधिका लागि सेमिफाइनल समीकरण पूरा
यस जितसँगै माडी माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेको छ। अब बुधबार हुने सेमिफाइनल चरणका खेलहरू थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ। पहिलो सेमिफाइनलमा सोमेश्वर माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा दिवाकर स्मृति माध्यमिक विद्यालय र बाल विकास इङ्लिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता अन्तिम चरणतर्फ उन्मुख भइरहेका बेला सहभागी विद्यालयहरू उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। सेमिफाइनलका खेलहरूले फाइनल पुग्ने टोलीको टुंगो लगाउने भएकाले दर्शकहरूमा समेत विशेष उत्साह देखिएको छ।




















