२ वैशाख,काठमाडौं । नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा प्रदायकहरूको समन्वयमा यस्ता अवैध एप तथा यूआरएलहरू पहिचान गरी निष्क्रिय पारिएको हो।
उनका अनुसार हालसम्म १० हजारभन्दा बढी सट्टेबाजीसम्बन्धी एप र वेबसाइट बन्द गरिएका छन्। नेपाल टेलिकमले मात्र २१ हजारभन्दा बढी यस्ता प्लेटफर्म बन्द गरेको विवरण उपलब्ध गराएको उनले जानकारी दिए। अवैध गतिविधि निरन्तर पहिचान गरी बन्द गर्ने प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनअन्तर्गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो।
त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गर्दै देशभर सञ्चालनमा रहेका पहिचान भएका सबै सट्टेबाजीसम्बन्धी डिजिटल प्लेटफर्म तत्काल बन्द गरेको हो।
मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गराउनु वा गर्नुलाई दण्डनीय अपराध मानिएको छ। दोषी ठहर भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तथा प्रयोग भएको रकम जफत हुने व्यवस्था छ।
त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले पनि जुवा तथा अवैध चिठ्ठा प्रवर्द्धन गर्ने विज्ञापन निषेध गरेको छ।
सरकारले यस्ता अवैध अनलाइन गतिविधिबाट टाढा रहन आग्रह गर्दै कसैले सञ्चालन गरेको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। प्राधिकरणले नागरिकलाई सचेत रहन र शंकास्पद डिजिटल गतिविधिबारे जानकारी दिन समेत आग्रह गरेको छ।

















