२ वैशाख, वीरगञ्ज । आफ्नै श्रीमान्को अमानवीय र क्रूर आक्रमणबाट दाहिने खुट्टा गुमाउन पुगेकी हरिकला सहनीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको छ। वीरगन्जस्थित एल.एस. न्युरो हस्पिटलमा उपचाररत पीडित सहनीको नाजुक आर्थिक अवस्था र न्याय प्राप्तिको लडाइँलाई मध्यनजर गर्दै इन्सेकले १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो।
गएको चैत १ गते श्रीमान्ले धारिलो हतियार प्रहार गरी हरिकलाको खुट्टा काटिदिएका थिए। सोही दिनदेखि बाराको परवानीपुरस्थित न्युरो अस्पतालमा उपचार गराइरहेकी उनलाई भेट्न इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, सञ्चारकर्मी सूर्य नारायण विक र अस्पतालका प्रशासन प्रमुख विनोद पटेलसहितको टोली अस्पताल पुगेको थियो। प्रतिनिधि भण्डारीले पीडितलाई सो रकम हस्तान्तरण गर्दै इन्सेकले सधैँ मानव अधिकार र न्यायको पक्षमा वकालत गर्ने बताउनुभयो।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार श्रीमान्ले प्रहार गरेको चोट यति गहिरो थियो कि उनको काटिएको खुट्टा पुनः साविककै अवस्थामा जोडिन सम्भव भएन। खुट्टाको काम नलाग्ने भागलाई चिकित्सकहरूले शल्यक्रियामार्फत अलग गरिदिएका छन्। अब हरिकलाले बाँकी जीवन एउटा खुट्टाको सहारामा मात्र बिताउनुपर्ने भएको छ।
पीडित हरिकलाका २ र ६ वर्षका दुई नाबालक छोराहरू छन्। घटनापछि घरतर्फका सदस्यहरूले कुनै वास्ता नगरेका कारण अस्पतालमा उनलाई वृद्ध बुबाआमाले रेखदेख गरिरहेका छन्। आर्थिक अवस्था निकै कमजोर छ, उपचार खर्च जुटाउनै धौ–धौ परिरहेको बेला न्यायका लागि लड्न झन् कठिन हुने देखिएकाले हामीले सानो सहयोग गरेका हौँ, इन्सेक प्रतिनिधि भण्डारीले भन्नुभयो।
श्रीमतीमाथि यस्तो जघन्य अपराध गर्ने पीडक श्रीमान्लाई प्रहरीले चैत १४ गते नै नियन्त्रणमा लिइसकेको छ। हाल उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
अस्पतालको बेडमा छटपटाइरहेकी हरिकलाका लागि १० हजार रुपैयाँ ठूलो रकम नभए पनि, यसले उनी जस्ता असहाय महिलाहरूका लागि राज्य र नागरिक समाज अझै जीवित छ भन्ने एउटा सकारात्मक सन्देश दिएको छ।

















