Logo

३ बैशाख, काठमाडौँ । नेपाल सरकारले स्वास्थ्य सेवालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउँदै देशभरका अस्पतालहरूमा विपन्न नागरिकका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्या (बेड) को अवस्था अब अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएको छ ।

‘फ्रि हेल्थ पोर्टल’ मार्फत सार्वजनिक गरिएको यो प्रणालीले कुन अस्पतालमा कति बेड खाली छन् र कुन बिरामीले सेवा पाइरहेका छन् भन्ने विवरण ‘रियल–टाइम’ मा उपलब्ध गराउनेछ । यसअघि कतिपय अवस्थामा कागजमा मात्र सीमित रहेको यो व्यवस्थालाई डिजिटल प्रणालीमा आवद्ध गरेसँगै अब सर्वसाधारणले घरमै बसेर अस्पतालको उपलब्धता जाँच गर्न सक्नेछन् ।

नेपालको संविधानको धारा ३५ ले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवाको हकलाई सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो ठोस कदम चालेको हो । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को प्रावधान अनुसार सरकारी, निजी र सामुदायिक सबै प्रकारका अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनु पर्ने कानुनी बाध्यता छ ।

नयाँ पोर्टलमा बिरामीको भर्ना मिति, बेड नम्बर र विभाग मात्र नभई रोगको निदान सम्बन्धी विवरण समेत समावेश हुने भएकाले पहुँचवालाको दबाबमा निःशुल्क सेवा वितरण हुने पुरानो परिपाटी अन्त्य हुने विश्वास गरिएको छ ।

यसका साथै सरकारले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि’ समेत कार्यान्वयनमा ल्याएको छ, जसले अस्पतालहरूमा स्वास्थ्यकर्मीको उपस्थिति र सेवाको प्रभावकारिताको कडा अनुगमन गर्नेछ ।

मन्त्रालयको आगामी योजना यस प्रणालीलाई एकीकृत ‘डिजिटल पेसेन्ट रेकर्ड सिस्टम’ सँग जोड्ने रहेको छ । यसबाट बिरामीलाई अनावश्यक रूपमा अन्यत्र रिफर गर्ने प्रवृत्ति निरुत्साहित हुनुका साथै नागरिकले आफ्नो उपचारको पूर्ण इतिहास डिजिटल माध्यमबाटै सुरक्षित राख्न र प्राप्त गर्न सक्नेछन् ।

यो नयाँ सुरुवातले लक्षित वर्गका लागि अस्पतालको सेवालाई थप पहुँचयोग्य र उत्तरदायी बनाउने अपेक्षा छ ।


सम्बन्धित समाचार