३ वैशाख,वीरगञ्ज । वीरगञ्ज जेसीजको सप्ताहव्यापी कार्यक्रम “जेसीज सप्ताह” अन्तर्गत तेस्रो दिनको कार्यक्रमका रूपमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल सरकारअन्तर्गत रहेको बाल सुधार गृह, वीरगञ्ज–४ बिर्तामा आयोजना गरिएको हो।
वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा Everest Dental Clinic का सञ्चालक तथा दन्त चिकित्सक डा. मनोज उपाध्यायले बाल सुधार गृहमा रहेका १०२ जना बालकहरूको दन्त परीक्षण गर्नुभयो। परीक्षणका क्रममा उहाँले बालकहरूको मौखिक स्वास्थ्यसम्बन्धी परामर्श समेत दिनुभएको थियो। साथै, सहभागी बालकहरूलाई दाँत माझ्ने ब्रस, मञ्जन लगायतका सामग्री वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज जेसीजका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर गणेशमान श्रेष्ठ रहनुभएको थियो। उहाँले यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूले बालकहरूको भविष्य निर्माणमा सकारात्मक योगदान पुर्याउने उल्लेख गर्दै वीरगञ्ज जेसीजको सक्रियताको प्रशंसा गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर निशान्त कुमार लामिछाने, जेसीआई सिनेटर सन्तोष खनाल, जेसी मुकेश सिंह, आजीवन सदस्य जेसी बबिता श्रेष्ठ, बाल सुधार गृहका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनरेश प्रसाद कुशवाहा तथा प्रशासन इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण साहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन वीरगञ्ज जेसीज वर्ष २०२६ का उपाध्यक्ष जेसी निश्चल प्रजापतिले गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष जेसी पप्पु गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरेका थिए।

















