३ वैशाख,वीरगञ्ज । बारा जिल्लासँग जोडिएको भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करी तथा अवैध पशु ओसारपसारविरुद्ध सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीको संयुक्त कारबाही तीव्र बनेको छ। पछिल्ला दुई छुट्टाछुट्टै अपरेसनमा अफिमसहित दुई जना पक्राउ परेका छन् भने १५ वटा गाईगोरु नियन्त्रणमा लिइएको छ।
एसएसबीको ७१औँ बटालियनबाट प्राप्त गोप्य सूचनाका आधारमा बिहार प्रहरीसँगको संयुक्त कारबाहीमा करिब ४ किलो अफिमसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पर्सा निवासी ५७ वर्षीय चन्देश्वर महतो कोइरी र भारत पश्चिम चम्पारणका ६६ वर्षीय झग्गु महतो रहेका छन्।
एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार उनीहरूको शरीर तलासीका क्रममा चार वटा प्याकेटमा लुकाइएको अवस्थामा अफिम बरामद गरिएको हो। साथै तीन थान मोबाइल फोन पनि फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त लागूऔषध मोतीहारीबाट दिल्लीसम्म पुर्याउने योजना रहेको खुलेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि बिहार प्रहरीको पिपरा कोठी चौकीमा बुझाइएको छ।
यसैबीच, अर्को छुट्टै अपरेसनमा एसएसबी टोलीले बिहान करिब २ बजे सीमाक्षेत्रबाट १५ वटा गाईगोरु नियन्त्रणमा लिएको छ। बारासँग जोडिएको इनरवा (लरहटोला) क्षेत्रमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरिएका ५ वटा गाई र १० वटा बाछो बरामद गरिएको एसएसबी प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिएका छन्।
बरामद गरिएका पशुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आदापुर प्रहरी कार्यालयमा बुझाइने जनाइएको छ।
सीमाक्षेत्रमा पछिल्ला दिनहरूमा लागूऔषध तस्करी र अवैध पशु ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र कारबाही अझ कडा बनाएको छ।


















