Logo

३ बैशाख, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता भइरहँदा सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई प्रमुख दलहरूको साथ मिलेको छ ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको हो । नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुवैले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जनाएका छन् । यससँगै विपक्षी मोर्चाले लेखा समितिको नेतृत्वमा साझा उम्मेदवार खडा गर्ने निश्चित भएको छ ।

मोहन आचार्य उम्मेदवार

सत्ता पक्षीय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत परम्परागत संसदीय अभ्यासलाई सम्मान गर्दै लेखा समितिको सभापति प्रतिपक्षलाई नै दिने निर्णय गरेको छ। सिंहदरबारमै बसेको रास्वपा संसदीय दलको बैठकले लेखा समितिको नेतृत्व कांग्रेसलाई छाड्ने निर्णय लिएको हो ।

यसैबिच, नेपाली कांग्रेसले लेखा समितिको सभापतिमा प्रभावशाली नेता मोहन आचार्यलाई अघि सार्ने तयारी तीव्र पारेको छ ।

सबै प्रमुख दलहरूबीच लेखा समितिको सभापति प्रतिपक्षलाई दिने विषयमा मोटामोटी सहमति बनेसँगै आचार्यको चयन लगभग निश्चित देखिएको छ । संसद् सचिवालयका अनुसार आज दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने भोलि शुक्रबार निर्वाचनको कार्यक्रम रहेको छ ।

अन्य समितिहरूमा सत्ता र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने सम्भावना रहे पनि लेखा समितिमा भने कांग्रेस उम्मेदवारलाई सत्ता र विपक्षी दुवै पक्षको साथ मिल्नुलाई रोचक राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार