२५ बैशाख, काठमाडौं । चीन सरकारले भ्रष्टाचार विरुद्धको आफ्नो अभियानलाई सैन्य नेतृत्वको माथिल्लो तहसम्म पुर्याउँदै दुई पूर्व रक्षामन्त्रीहरू ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
चिनियाँ सैन्य अदालतले उनीहरूलाई पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको र सैन्य अनुशासन गम्भीर रूपमा उल्लङ्घन गरेको ठहर गर्दै यो कठोर फैसला सुनाएको हो । यद्यपि, उनीहरूलाई दिइएको मृत्युदण्डको सजायमा दुई वर्षको सहुलियत अवधि राखिएको छ, जसलाई पछि उनीहरूको चालचलन हेरी आजीवन कारावासमा परिणत गर्न सकिने कानुनी प्रावधान रहेको सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।
पूर्व रक्षामन्त्री ली साङ्फु गत वर्ष अक्टोबरमा अचानक पदबाट बर्खास्त गरिएका थिए भने त्यसअघि उनी लामो समय सार्वजनिक जीवनबाट ओझेल परेका थिए । सैन्य अनुशासन अनुसन्धान एजेन्सीका अनुसार लीले हतियार खरिद र उपकरण आपूर्तिमा पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएका थिए, जसले चिनियाँ सेनाको छविमा समेत गम्भीर आघात पुर्याएको छ। उनीसँगै सजाय पाएका अर्का पूर्व रक्षामन्त्री वेई फेङ्गे सन् २०१८ देखि २०२३ सम्म रक्षा मन्त्रालयको जिम्मेवारीमा थिए ।
उनी विशेष गरी चीनको परमाणु र मिसाइल शक्ति मानिने ‘रकेट फोर्स’ सँग जोडिएका निर्णयहरूमा आर्थिक अनियमितता गरेको आरोपमा दोषी पाइएका हुन् ।
यो कारबाहीलाई राष्ट्रपति सी चिनफिङले सेनाभित्र चलाएको शुद्धीकरण अभियानको सबैभन्दा ठूलो कदमका रूपमा हेरिएको छ । सेन्ट्रल मिलिट्री कमिसन (सीएमसी) को अनुसन्धानले सेनाको हतियार खरिद विभाग र रकेट फोर्सभित्र व्यापक भ्रष्टाचारको जालो रहेको फेला पारेपछि दर्जनौँ वरिष्ठ सैन्य अधिकारीहरू कारबाहीको दायरामा परेका छन् ।
चीनको सर्वोच्च सैन्य संस्थाले गरेको यो फैसलाले सैन्य सम्झौता र रक्षा प्रणालीमा हुने घुसखोरीलाई पूर्णतः निरुत्साहित गर्ने रणनीति लिएको देखिन्छ। यसअघि नै यी दुवै उच्च अधिकारीलाई चिनियाँ कम्युनिस्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकिएको थियो ।

















