Logo

२५ वैशाख,वीरगञ्ज । दुधौरा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा संकलन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराले एक जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको छ।

राजेश कुमार साहको नेतृत्वमा खटिएको गस्ती टोलीले बिहीबार दिउँसो करिब १२ः४५ बजे ती सवारीसाधन नियन्त्रणमा लिएको हो। सुजित कुमार झाले अवैध उत्खनन तथा भण्डारणमा प्रयोग भइरहेका सवारीसाधनमाथि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

नियन्त्रणमा लिइएका टिपरमध्ये ना ७ ख ४८२५ र मधेश प्रदेश ०३–००१ क ३०११ नम्बरका गाडी रहेका छन्। गस्ती टोलीमा नागेन्द्र बैठासहित सुरक्षा निकाय र वनकर्मीहरूको सहभागिता रहेको थियो।

वन कार्यालयका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–१बाट नदिजन्य पदार्थ उत्खननको ठेक्का पाएको ठेकेदारले वन क्षेत्रभित्र नियमविपरीत घाटगद्दी सञ्चालन गर्नुका साथै वातावरणीय अध्ययन तथा परीक्षण प्रतिवेदनविपरीत उत्खनन कार्य गरेको पाइएको छ।

सोही आधारमा नदिजन्य पदार्थ बोकेको सवारी नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय बाराले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा गस्तीलाई अझ कडा बनाइने जनाएको छ।


सम्बन्धित समाचार