२५ बैशाख, काठमाडौं । उपभोक्तालाई ठगी गरेको आरोपमा ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
लितपुरको गोदावरी नगरपालिका–५ लेलेमा सञ्चालित उक्त उद्योगले उत्पादन गर्ने ‘छहारी र ओमकार ब्रान्डका सूर्यमुखी तेलमा तोकिएको भन्दा कम तौल राखेर बजार पठाउने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यो कारबाही गरेको हो ।
विशेष सुराकीका आधारमा प्रहरीले उद्योगमा छापा मार्दा प्याकेजिङ गरिएका तेलका पोकाहरूमा निर्धारित मापदण्डभन्दा कम परिमाण फेला परेको थियो। अनुसन्धान टोलीले उद्योगबाट बिक्रीका लागि तयार पारिएको ९०५ कार्टुन तेल समेत बरामद गरेको छ । उद्योगले सरकारी मापदण्डको धज्जी उडाउँदै प्याकेटमा उल्लेख भएभन्दा कम तेल भरेर लामो समयदेखि उपभोक्तालाई आर्थिक भार पारिरहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया र विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । बजारमा दैनिक उपभोग्य वस्तुमा भइरहेको यस्तो ठगीले उपभोक्ताको अधिकारमाथि सिधै प्रहार गरेको भन्दै प्रहरीले गुणस्तर र परिमाणमा कैफियत गर्ने अन्य उद्योगहरूमाथि पनि निगरानी बढाएको जनाएको छ ।

















