Logo

२५ बैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको मनसुन अवधिको मौसमी अवस्थाबारे जानकारी दिँदै यस पटक पानी कम पर्ने र गर्मी भने बढी हुने सम्भावना रहेको जनाएको हो । विभागका अनुसार कर्णालीको दक्षिणी क्षेत्र, लुम्बिनी र मधेश प्रदेशका पूर्वी भागका साथै कोशी प्रदेशको दक्षिणी क्षेत्रमा वर्षा कम हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

यद्यपि, सबै क्षेत्रमा एकैनासको वर्षाको अवस्था भने रहने छैन । सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, मधेश प्रदेशको पश्चिमी भाग र कोशी प्रदेशको मध्य क्षेत्रमा भने सरदरभन्दा बढी वर्षा हुने ४५ देखि ५५ प्रतिशत सम्भावना रहेको मौसमविद सुदर्शन हुमागाईंले जानकारी दिनुभएको छ ।

कर्णाली र कोशी प्रदेशका उत्तरी पहाडी भूभागमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ। वर्षाको मात्रा कम हुने प्रक्षेपण गरिए पनि तापक्रमका हिसाबले भने यो मनसुन कष्टकर हुन सक्ने देखिएको छ ।

मौसम विभागका अनुसार यो वर्ष देशभरकै अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने ३५ देखि ६५ प्रतिशत सम्भावना छ । यसको अर्थ वर्षा कम हुने क्षेत्रहरूमा चर्को गर्मी र तातो हावाको प्रभाव बढी देखिन सक्नेछ ।

कृषि र जलस्रोतमा प्रत्यक्ष प्रभाव पार्ने यो मौसमी प्रक्षेपणलाई मध्यनजर गर्दै पूर्वतयारी अपनाउन विभागले सरोकारवालाहरूलाई आग्रह गरेको छ । वर्षा र तापक्रमको यो उतारचढावले मनसुन अवधिभरको जनजीवन र कृषि उत्पादनमा समेत फरक असर पार्ने देखिएको छ ।


सम्बन्धित समाचार