Logo

२५ बैशाख, काठमाडौं । कम्बोडियामा अलपत्र परेका र अवैध रूपमा बसिरहेका २११ जना नेपाली नागरिकहरू स्वदेश फर्कनका लागि थाइल्यान्डस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

बैंककमा रहेको राजदूतावासले सङ्कलन गरेको विवरण अनुसार सन् २०२२ देखि २०२६ को मे महिनासम्म कम्बोडिया पुगेका यी नेपालीहरूले स्वदेश फर्काइदिन आग्रह गर्दै अनलाइन फाराम भरेका हुन् । सम्पर्कमा आएकामध्ये ९ जना महिला रहेका छन् भने अन्य पुरुष रहेका छन् । दूतावासका अनुसार विभिन्न प्रलोभनमा परी प्रतिव्यक्ति २ लाखदेखि ८ लाख रुपैयाँसम्म बुझाएर उनीहरू कम्बोडिया पुगेको खुलेको छ ।

स्वदेश फिर्तीको प्रक्रिया चलिरहँदा कम्बोडियाका विभिन्न कारागारमा भने २७ जना नेपालीहरू पुर्पक्षका लागि थुनामा रहेको दुःखद तथ्य बाहिर आएको छ। विभिन्न अभियोगमा पक्राउ परेका उनीहरूको कानुनी प्रतिरक्षाका लागि स्थानीय भाषा बुझ्ने वकिलको आवश्यकता पर्न सक्ने दूतावासले जनाएको छ ।

यसैबीच, सम्पर्कमा आएकामध्ये २५ जना नेपालीहरू शुक्रबार नै स्वदेश फर्किएका छन् । दूतावासले बाँकी रहेका अन्य नेपालीहरूको पनि उद्धार र फिर्तीका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएको छ ।

घर फर्किने तयारीमा रहेका नेपालीहरूलाई सचेत गराउँदै दूतावासले यात्रा सहज बनाउन केवल ‘कनेक्टिङ फ्लाइट’ को टिकट मात्र खरिद गर्न आग्रह गरेको छ । कनेक्टिङ फ्लाइट नहुँदा ट्रान्जिट मुलुकको भिसा लिनुपर्ने र लगेज पुनः चेक(इन गर्नुपर्ने जस्ता झन्झटले यात्रा कठिन हुने भन्दै दूतावासले यस्तो सुझाव दिएको हो ।

अवैध बाटोबाट वा एजेन्टको भर परेर वैदेशिक रोजगारीमा जाँदा पर्न सक्ने जोखिमबारे सचेत रहन आग्रह गर्दै सरकारले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ ।


सम्बन्धित समाचार